• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

१४ वैशाख, काठमाडौं । सरकारले चितवन राष्ट्रिय निकुञ्जका रुद्रकली र खगेन्द्रप्रसाद नामका दुई हात्ती कतार सरकारलाई दिन अन्तिम गृहकार्य गरिररहेको छ । कतारी अमिर तमिम बिन हमाल अल थानीले यसैसाता नेपाल भ्रमण गरेकै समयमा सो हात्ती हन्तान्तरणको सम्झौता हुने भनिएपनि कतार सरकारले प्रक्रियाहरु पूरा नगर्दा हुन सकेन ।

तर, यी हात्ती दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) अनुसार ओसारपसारका लागि सम्झौता र साइटिस अनुमतिको प्रक्रिया पूरा गरेर कतारमा पठाउने तय भइसकेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले जानकारी दिए ।

तर, यसरी कतारलाई एक जोडी भोले र पोथी हात्ती उपहार दिन खोज्दा कतिपयले नेपालले संरक्षण गरेका वन्यजन्तु किन अन्य देशलाई उपहारका रुपमा दिइन्छ भन्ने प्रश्न उठाएका छन् । कतारी राजा नेपाल आउँदा महत्वपूर्ण मानिएको सन् २०५५मा भएको श्रम सम्झौता पुनरावलोकनको समझदारी समेत समेत हुन सकेन । त्यसैले नेपालले कूटनीतिक सम्बन्धलाई बलियो बनाउने यसरी संरक्षित वन्यजन्तु दिने तर केही पनि हात नलाग्ने अवस्थालाई भने जनस्तरमै रुचाइएको छैन ।

तर, सरकारी अधिकारीहरु यसरी वन्यजन्तु उपहारमा दिनुलाई ‘संरक्षण कूटनीति’ भन्छन् र यसले दीर्घकालीन रुपमा दुई देशको सम्बन्धलाई सुमधर राख्न सघाउने विश्वास व्यक्त गर्छन् । ‘परस्थानीय संरक्षणका लागि यस्तो वन्यजन्तु तथा वनस्थपतिहरु अन्य देशलाई दिएर त्यहाँ संरक्षणको काम गर्न सकिन्छ, देशहरुबीचको आपसी सम्बन्ध विस्तार गर्न र सम्बन्धित देशलाई अध्ययन अनुसन्धान सघाउन पनि यस्तो अभ्यास पहिलेदेखि नै यस्तो परम्परा छ,’ उनले भने,‘दीर्ककालसम्म दुई देशबीचको सम्बन्ध राम्रो बनाइराख्न यसले सघाउँछ ।’ ढुंगानाका अनुसार नेपालले पहिलोपटक कुनै हात्ती अन्य देशलाई उपहार स्वरुप दिन लागेको हो ।

यसपछि नेपालले चीनलाई एक जोडी गैंडा पनि दिने छ । तर, अहिलेसम्म चीन सरकारबाट गैंडा लैजाने गरी पत्राचार भएर प्रक्रिया थालनी नभइसकेको ढुंगानाले बताए ।

अधिकारीहरु यसरी वन्यजन्तु उपहार दिनुलाई ‘ट्रयाक टु डिप्लोमेसी’ पनि भन्छन् । यसले मुलुकबीच सम्बन्ध सुमधुर राखिराख्न र कुनै विषयमा ‘गिभ एन्ड टेक’को वातावरण बनाउन सघाउ पुर्‍याउने उनीहरुको दाबी छ । ‘तर नेपालले यस्तो कूटनीति प्रयोग गरेर कुनै महत्वपूर्ण उपलब्धि हात पारेको जानकारी हामीसँग छैन,’ वन्यजन्तु संरक्षण विभागका एक अधिकारी भन्छन्,‘हामीले केही कुराको आशामा दिने पनि हैन, सो देशलाई खुसी पार्दा राम्रो हुन्छ भन्ने मात्रै हो ।’

वन मन्त्रालयका प्रवक्ता ढुंगाना जावालाखेलस्थित चिडियाखाना रहेका केही जनावरहरु विदेशबाट नै नेपाललाई उपहारमा आएको बताउँछन् । नेपालले यसअघि थाइल्यान्डबाट जलगैंडा, मलेसियाबाट नेपालीमा सियामाङ (वनमान्छे), अस्ट्रियाबाट अस्ट्रिच, चीनबाट गोही, भारतबाट सिंहपुच्छ्रे बाँदर उपहार नै पाएको थियो । यसअघि विदेशबाट नै उपहारमा पाएका जेब्रा र सिंह समेत दर चिडियाखनामा थिए । वन्यजन्तुको परस्थानीय संरक्षणमा नेपाल आफैंले सफल उदहारण पेश गर्न भने सकेको छैन ।

वन मन्त्रालयका अधिकाकारीहरु दुई देशबीचको सद्भावनाको प्रतीकका रुपमा यस्तो वन्यजन्तु उपहार दिने व्यवस्था कानुनमा नै छ । २०७३ अघिसम्म विदेशी मुलुकलाई वन्यजन्तु उपहारमा दिन सकिने कानुनी व्यवस्था थिएन । मन्त्रिपरिषदबाट निर्णय गरेर वन्यजन्तु पठाउने अभ्यास थियो ।

नेपाल पक्ष राष्ट्र रहेको वनस्पति तथा वन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ जारी भएपछि भने उपहारमा वन्यजन्तु दिने प्रक्रिया वैधानिक बन्न पुगेको हो ।

सो ऐनले संकटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षणमा नेपाल सरकारको प्रयासलाई सहयोग पुर्‍याउने वा सो प्रयोजनको लागि अध्ययन वा अनुसन्धानलाई उपलब्धिमूलक बनाउन प्राविधिक सहयोग पुर्‍याउने कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धानको प्रयोजनका लागि एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको संकटापन्न वन्यजन्तु दिन सकिने व्यवस्था गरेको छ । नेपाली जनता र नेपाल सरकारको सदभावनाको प्रतीकको रुपमा उपहार स्वरुप त्यस्तो मुलुकलाई उपलब्ध गराउन सक्ने ऐनमा उल्लेख छ ।

यसरी दिएको वन्यजन्तु वा वनस्पति व्यापारिक प्रयोजनका लागि प्रयोग नगरिने आश्वासन सम्बन्धित मुलुकबाट लिनुपर्ने व्यवस्था पनि ऐनमा छ । उपहार दिएको वन्यजन्तुको वार्षिक विवरण वन तथा भू–संरक्षण मन्त्रालयले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र संघीय संसदको सम्बन्धित समिति समक्ष पेश गर्ने व्यवस्था समेत छ ।

राजाकालीन अभ्यास

राजतन्त्रकालीन समयमा भने तत्कालीन राजा र राजपरिवारका सदस्यले तथ्यांक नराखी वन्यजन्तु उपहारमा दिएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरु बताउँछन् ।

त्यतिबेला विभिन्न मुलुकसँग मित्रता बढाउने नाममा वन्यजन्तुहरु उपहार दिने प्रचलन थियो । राजतन्त्रकालमा अन्तिमपटक सन् २००६ मा तत्कालीन युवराज पारस शाहले अष्ट्रियालाई २ जोडी गैंडा दिएका थिए ।

तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष (हालको राष्ट्रिय प्रकृति संरक्षण कोष) को अध्यक्ष अधिराजकुमार रहने भएकाले सोही कोषमार्फत तारतम्य मिलाएर गैंडा र अन्य वन्यजन्तु उपहार दिने गरिन्थ्यो । मध्यपूर्वका विभिन्न देशसहित पाकिस्तान, बर्मा, थाइल्यान्ड जस्ता देशलाई वन्यजन्तु दिएकोबारे चर्चा हुने गरेपनि कतिपयको आधिकारिक जानकारी सरकारी निकायमा नै नरहेको विभागका अधिकारीहरुको दाबी छ ।

वन्यजन्तु दिएर विदेशीसँग सम्बन्ध जोड्ने र प्रगाढ बनाउने राजतन्त्रकालीन ‘संरक्षण कूटनीति’लाई गणतन्त्रकालीन राजनीतिक नेतृत्वले पनि निरन्तरता दिंदै आएका छन् ।

२०६२/६३ को जनआन्दोलनपछि केही समय हटेको थियो । २०७३मा कानुनमै व्यवस्था गरिएपछि फेरि नेपालले परस्थानीय संरक्षणका लागि भन्दै विदेशीलाई खुसी पार्नकै लागि देशभित्र संरक्षण गरिएका वन्यजन्तु उपहारमा दिइरहेको छ ।

२०७३ मा केपी शर्मा ओली प्रधानमन्त्री र अग्नि सापकोटा वन मन्त्री भएका बेला पुनः वन्यजन्तु उपहारमा दिने परम्परा सुरु भएको थियो । त्यतिबेला मन्त्रिपरिषदले चीनलाई २ जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसबापत भक्तपुरको सूर्यविनायकमा प्रस्ताव गरिएको २४५ हेक्टरको प्राकृतिक प्राणी उद्यानमा चीनले सघाउने दाबी गरिएको थियो । तर, बजेट अभावले प्रस्तावित परियोजना अलपत्र परेकै अवस्थामा चीनलाई थप गैंडा दिने तय भइसकेको छ ।

नेपालबाट पहिलो पटक २८ असार २०७५ मा ‘भद्र’ र ‘रुपसी’ नामका गैंडा चीन पठाइएको थियो । दोस्रोपटक ३१ साउन २०७५ मा ‘सोल्टी’ र ‘मितिनी’को जोडी गैंडा चीन पठाइएको थियो । रुपसी र भद्रलाई चीनको चिमेलङ सफारी पार्कका लागि पठाइएको थियो भने सोल्टी र मितिनीलाई सांघाइ वाइल्ड एनिमल पार्कमा लगिएको थियो । तर, चीनमा पठाएका चारमध्ये एउटा गैंडा मरेको थियो । भालेपोथी मिलाएर दिइएको जोडी गैंडामा एउटा मरेको थियो ।

गत असोज २०८०मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहारस्वरुप चीन भ्रमणका बेला फेरि एक जोडी एक सिंगे गैंडा दिने प्रतिवद्धता जनाएका थिए ।  नेपाल र चीनको संयुक्त वक्तव्यको ११औं बुँदामा नेपाल सरकार र जनताको तर्फबाट उपहारस्वरुप चीनको सरकार र जनतालाई दीर्घकालीन मित्रताको प्रतीकका रूपमा एक जोडी एक सिंगे गैंडा उपहार दिने उल्लेख भएको थियो । यसअघि नेपालले ४ वटा गैंडा चीनलाई उपहार दिइसकेको छ ।

विभिन्न देशलाई नेपालले उपहारमा दिएको गैंडाको संख्या हालसम्म २६ पुगिसकेको छ । यो संख्या सरकारसँग रहेको आधिकारिक तथ्यांकमा आधारित हो ।

वन्यजन्तु संरक्षण विभागका अधिकारीका अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण क्रममा २०७५ सालमै नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुसार प्रक्रिया पूरा गरेर अहिले कतारमा हात्ती पठाउन लागिएको हो ।

सरकारी तथ्यांकअनुसार नेपालले विभिन्न ११ वटा देशलाई वन्यजन्तु उपहारमा दिएको छ । हात्ती पाएपछि कतार यस्तो उपहार पाउने १२औं मुलुक हुनेछ ।

नेपालले सबैभन्दा पहिला सन् १९८५ मा भारतको दुदुवा नेसनल पार्कलाई चारवटा गैंडा उपहार दिएको थियो । नेपालले अमेरिकालाई सबैभन्दा बढी ६ वटा गैंडा दिइसकेको छ । अब चीन पनि ६ वटा गैंडा उपहार पाउने मुलुकको सूचीमा सामेल हुंदैछ।

सन् १९८७ मा नेपालले अमेरिकी राष्ट्रिपति रोनाल्ड रेगनलाई एक जोडी गैंडा उपहार पठाएको थियो । सरकारले अमेरिकाकै ‘नेशनल जुलोजिकल पार्क’का लागि अर्को एक जोडी गैंडा उपहार पठाएको थियो । सन् १९९० मा अमेरिकाकै ‘फर्टवर्ट जुलोजिकल एसोसिएसन’लाई एक जोडी गैंडा पठाएको थियो ।

नेपालले सन् १९९० मा जर्मनीको म्युनिख चिडियाखानाका लागि एउटा गैंडा र सन् १९९३ मा विल्हेमा चिडियाखाना स्ट्रुटहार्टलाई अर्को एउटा गैंडा दिएको थियो ।

सन् १९९० मै सिंगापुरको ‘सिंगापुर जुलोजिकल एसोसिएसन’लाई एक जोडी गैंडा उपहार दिएको तथ्यांक छ । सन् १९९८ मा बेलायतको ‘जुलोजिकल सोसाइटी अफ लन्डन’लाई पनि एक जोडी गैंडा उपहार दिएको थियो ।

बंगलादेशको ‘मिरपुर नेसनल जु’ले पनि नेपालबाट सन् १९९३ मा एक जोडी गैंडा उपहार पाएको थियो । सन् २००२ मा जापानको ‘टामा जुलोजिकल पार्क’लाई एक जोडी गैैंडा दिइएको थियो भने नेपालले २००६ मा अष्ट्रियाको ‘भाइन्ना जु’लाई अर्को एक जोडी गैंडा उपहार पठाएको थियो ।

सरकारले विभिन्न देशलाई घडियाल गोही, त्यसका अण्डा, चितुवा र ब्वाँसोसमेत उपहार पठाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ ।

सन् १९९२ मा नेपालले जापानको ‘ओशाका जु’लाई एउटा जीवित हिमाली ब्वाँसो उपहार दिएको थियो । त्यस्तै सन् १९९८ मार्चमा साउदी अरेबियाको ‘रियाद जुलोजिकल गार्डेन’लाई दुईवटा चितुवा उपहार दिएको थियो ।

जर्मनीको ‘म्युनिख जु’लाई सन् १९९० अप्रिलमा दुईवटा घडियाल गोही दिइएको थियो भने जापानको ‘ओशाका जु’ले १९८७ मा एउटा घडियाल गोही उपहारमा पाएको थियो ।

सन् २००० मा फ्रान्सलाई नेपालले चारवटा पोथी र एउटा भाले घडियाल गाडी उपहार पठाएको थियो । सन् २००४ अप्रिल २३ मा नेपालले भुटान सरकारलाई दुईवटा घडियाल गोही उपहार दिएको थियो ।

सन् १९९४ मा जापानलाई घडियाल गोहीका ३० वटा अण्डा र ३० वटा मगर गोहीका अण्डाहरु उपहार पठाएको वन्यजन्तु विभागले जनाएको छ । सन् १९९५ मा जापानले फेरि ३०/३० वटा घडियाल र मगर गोहीका अण्डा लगेको थियो ।

सन् २००२ सम्म नेपालले विभिन्न देशलाई वन्यजन्तुको आखेटोपहार समेत उपहारमा दिने गरेको थियो । नेपाललेसाउदी अरेबियाको तत्कालीन राजकुमारहरुका लागि गउर, पाटेबाघ, जरायो, काठे भालु, खर मजुरको आखेटोपहार उपहारमा पठाएको थियो ।

जापानलाई घडियाल गोही र भारतलाई चितुवाको आखेटोपहार समेत उपहार स्वरुप दिएको विभागको तथ्यांकमा देखिन्छ । तर, अहिले अन्तर्राष्ट्रिय रुपमा नै आखेटोपहारको प्रयोग र ओसारपसारलाई प्रतिबन्धित गरिएको छ ।

नेपाललाई लिन गाह्रो

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगाना सरकारको निर्णयअनुसार नै विदेशी मुलुकलाई वन्यजन्तु उपहार दिने गरिएको बताउँछन् । ‘सम्बन्धित देशको प्रस्तावित ठाउँ वन्यजन्तु राख्न प्राविधिक रुपमा योग्य छ कि छैन भन्ने हेर्न एक प्राविधिक समितिले नै हेर्छ, सोही आधारमा उपयुक्त ठाउँ रहेको ठहर भएपछि वन्यजन्तु उपहारमा दिने हो’, उनी भन्छन्, ‘उपहारमा दिँदा वन्यजन्तुले बच्चा जन्माएमा त्यसले संरक्षणमा पनि सहयोग पुग्छ ।’

द्विपक्षीय सम्बन्धमा वन्यजन्तुको उपहार लिने दिने सामान्य घटना भएपनि नेपालले भने विदेशबाट एकाधबाहेक वन्यजन्तु उपहारमा पाएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरुका अनुसार हाल जाउलाखेलमा रहेको सदर चिडियाखना साँघुरो भएकाले विदेशबाट वन्यजन्तु ल्याएर राख्न सकिने अवस्था नै छैन । तर, नेपालले इन्डोनेसियासँग चित्तल साटफेर गर्न खोजिरहेको छ ।

विदेशबाट वन्यजन्तु उपहारमा लिन ठूलो र खुला प्राणी उद्यान स्थापना नै पहिलो शर्त भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारीहरु बताउँछन् । ‘हामीले पनि वन्यजन्तु उपहारमा माग्न नसक्ने होइनौं’, राष्ट्रिय प्रकृति संरक्षण कोषका एक अधिकारी भन्छन्,‘कसैले आफैं दिन्छु भने पनि ल्याएर राख्ने ठाउँ हामीसँग छैन, त्यसरी वन्यजन्तु ल्याएर संरक्षण गर्न हामीसँग स्रोतसाधनको पनि कमी छ ।’

उपहारस्वरूप दिइने यस्ता वन्यजन्तुहरुलाई सुरक्षा प्रबन्धसहित प्राकृितक चिडियाखानामा व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । चिडियाखानाहरुलाई शैक्षिक तथा अध्ययन अनुसन्धानको केन्द्र मानिने भएकाले त्यसको व्यवस्थापन पनि वैज्ञानिक विधिबाटै गर्नुपर्ने हुन्छ । तर, ठूलो र व्यवस्थित प्राणी उद्यान नभएकाले विदेशबाट वन्यजन्तु ल्याउन नेपालले चासो नै दिन सकेको छैन ।

भवनमा सीमित सूर्यविनायकको प्रस्तावित प्राणी उद्यान

आवश्यकताका हिसाबले शहरको मध्यभागको साँघुरो क्षेत्रमा रहेको यो चिडियाखानामा थप वन्यजन्तु ल्याएर राख्न सकिने अवस्था नरहेको संरक्षण अधिकारीहरु बताउँछन् । त्यसैले शहरबाहिर प्राकृतिक वासस्थलमै चिडियाखाना व्यवस्थापन गरेर नेपालले पनि विदेशबाट वन्यजन्तु ल्याउन पहल गर्न सकिने अधिकारीहरु बताउँछन् ।

संरक्षणविद् उदयराज शर्मा वन्यजन्तु उपहारमा लिँदा दिँदा मूल्य वा अन्य कुनै नाफाको विषय हेर्नु साइटिस विपरीत हुने बताउँछन् । ‘विक्रीको उद्देश्य नराखिएले मूल्यको कुरै भएन, चिडियाखानामा प्रजजन, वंश विस्तार, कूटनीतिक सम्बन्ध विस्तारको उद्देश्यले यस्तो उपहार दिने प्रचलन छ,’ शर्माले भने,‘यसको पैसाको हिसाव किताव नराखी दिँदा आपत्ति हुँदैन ।’

विगतमा गैंडा दिँदा परोक्ष लाभ लिएको विषय उठेको भन्दै उनले यस्तो नहुने सुनिश्चित गरेर परस्थानीय संरक्षणका लागि दिँदा ठीक हुने बताए । विदेशबाट नेपालमा वन्यजन्तु ल्याएर संरक्षण गगर्ने विषय नेपालको प्राथमिकतामा नहुने भन्दै उनले नेपालकै वन्यजन्तुहरुको संरक्षणको मुद्दा नै प्रधान भएको बताए । ‘म विदेशबाट यहाँ वन्यजन्तु ल्याएर संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्दिनँ,’ उनले भने,‘हाम्रै वन्यजन्तुहरुको उचित संरक्षण नै हाम्रो प्राथमिकता हुनुपर्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)